Logo

बुढानीलकण्ठ नगर प्रमुखसहित चार जनप्रतिनिधिलाई एक महिना कैद सजायको फैसला



काठमाडौं, १३ जेठ । काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित चार जनप्रतिनिधिलाई जिल्ला अदालत काठमाडौंले एक महिना कैद सजायको फैसला सुनाएको छ । अदालतको अवहेलना मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासले उनीहरुलाई कैद सजायको फैसला सुनाएको हो ।

कैद सजाय पाउने वडा अध्यक्षहरुमा नवराज भट्टराई, सुमन तामाङ रहेका छन् । त्यस्नै वडा सदस्य चन्द्रमान श्रेष्ठलाई पनि एक महिना कैद सजाय सुनाइएको छ । नगर प्रवक्तासमेत रहेका भट्टराई वडा नं. १० का अध्यक्ष हुन् । श्रेष्ठ पनि सोही वडाका वडा सदस्य हुन् । तामाङ भने वडा नं. ८ का अध्यक्ष हुन् ।

उनीहरुले अदालतको फैसलाको सम्मान नगरी अवज्ञा गरेको देखिन आएको आदेशमा भनिएको छ । पालिकाले यसअघि जिल्ला अदालतले गरेको फैसला कार्यान्वयन गर्न अटेर गरेको थियो ।

पालिकाले निवेदकको सम्पत्ति सम्बन्धी हक, अधिकारलाई अवज्ञा गरेको अदालतको ठहर छ । ‘अदालतको फैसला नमान्ने तथा कार्यान्वयनमा अटेर गर्ने देहायका प्रतिवादीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८(१६) अनुसार जनही १ महिना कैद हुन्छ,’– फैसलामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot