Logo

बङ्गलादेशमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, करिब ३० हजार घर पूर्णरूपमा क्षतिग्रस्त



ढाका, १४ जेठ । बङ्गलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्णरूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् ।

आँधीले दशौँ हजार घरमा आंशिक क्षति पु¥याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांश को मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो । तीन जनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ ।

आइतबार राति ‘रेमाल’ नाम दिइएको चक्रवातले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो ।सोमबार दिउँसोसम्म यो कमजोर भएपनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ ।

“चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,” अलीले भने । सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुई जनाको मृत्यु भएको छ ।

उनले भने, “चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पु¥याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्णरुपमा क्षति पुगेको छ । चित्तागोङ्ग (चटगाँव) का प्रशासक तोफाएल इस्लामले एएफपीसँग भने, “चटगाँवमा एक व्यक्तिको मृत्यु भएको छ, जहाँ ४० हजार भन्दा बढी मानिसहरू अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा छन् ।

बङ्गलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बङ्गलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इञ्जिनियर विश्वनाथ सिकदर आँधीका कारण चटगाँव षेत्र पूर्णरूपमा विद्युतविहिन बनेको छ । उनले भने, “आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ ।”

“चक्रवातको अवस्थामा सुधार आएपछि हामी विद्युत आपूर्ति सुचारु गर्नेछौं,” उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot