Logo

बुटवल पावर कम्पनी लिमिटेडले अस्वाभाविक रुपमा महशुल वृद्धि गरेको भन्दै पाल्पा र स्याङ्जाका आयोजना प्रभावित जनता आन्दोलित, केन्द्रीय नेताहरुको पनि समर्थन



काठमाडौं, १४ जेठ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा उत्पादन केन्द्र रहेको बुटवल पावर कम्पनी (बीपीसीएल) ले पछिल्लो समय कसैसँग पनि समन्वय र छलफल नगरी महशुल बढाएको भन्दै स्थानीय उपभोक्ताहरु संयुक्त संघर्ष समिति बनाएर विरोधमा उत्रिएका छन् ।

आज (सोमबार) संयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बुटवल पावर कम्पनी आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धिविरुद्ध सशक्त संघर्षमा उत्रिने बताएको हो । बीपीसीएलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कुनैपनि काम नगरेको संघर्ष समितिले बताएको छ । बीपीसीएलको आयोजना प्रभावित क्षेत्र पाल्पा र स्याङ्जाका विभिन्न स्थानीय तहहरु रहेका छन् ।

संयुक्त संघर्ष समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले बीपीसीएलले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई महशुल बृद्धि गरेको बताए । विद्युत महशुल बृद्धि ४५ देखि ६५ प्रतिशतसम्म रहेको उनको भनाइ छ । स्थानीयहरुको उपभोक्ताहरुको ढाड सेकिने गरी मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यहाँका स्थानीयहरु अहिले आफ्नो ढंगले आन्दोलित रहेकोसमेत उनले बताए । आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने बताए ।

‘जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्छ । अहिले २० देखि ५० यनिटसम्म जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिनुपर्छ भनेर विद्युत प्राधिकरणले भनिरहेको अवस्थामा उल्टो बुटबल पावर कम्पनीले ढाड सेक्ने काम गरेको छ,’– उनले भने ।

५ एम्पियरको १० युनिट विद्युत खपत गर्ने उपभोक्ताले विद्युत प्राधिकरणलाई ३० रुपैयाँ तिर्ने गरेको बताउँदै उनले बुटवल पावर कम्पनीले भने अत्याधिक मूल्य वृद्धि गरेको बताए । ग्रामिण विद्युतीकरणको नाममा जनताको ढाड सेक्ने कार्य आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए ।

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले बुटवल पावर कम्पनीले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेर आयोजना प्रभावित क्षेत्रका जनतालाईमाथि कुठराघात गरेको बताए । आकस्मिक ढंगबाट थाहै नदिई ४३ प्रतिशत मूल्यवृद्धि गरेको उनको भनाइ छ ।

चापाकोट, गल्याङ, रम्भा, रामपुर र भीरकोटका जनताले बीपीसीएल निर्माण हुँदा श्रमदानदेखि मुअब्जासम्म नलिइ सहकार्य गरेको उनको भनाइ छ । कम्पनीले जनताले गरेको सहकार्य भुलेर एकाङ्की ढंगबाट मूल्यवृद्धि गरेको र आफूहरुलाई कुनै ढंगले स्वीकार नरहेको बताए । मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले आज नै उर्जा मन्त्रालयमा गएर यो विषयमा छलफल हुने बताए । बीपीसीएलले नाफा कमाउने नाममा त्यहाँका जनताले गरेको सहकार्य भुल्न नहुने बताए । मूल्यवृद्धि फिर्ता गराउने र जनसवालको विषयमा त्यहाँका सबै दल र नागरिक समाज एकै ठाउँमा रहेको बताए । उनले मूल्यवृद्धिलाई ठग प्रवृत्तिको संज्ञा दिए ।

नेकपा (एमाले) का नेता एवं पाल्पा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले बीपीसीएलले स्वैच्छिक ढंगले मूल्यवृद्धि गरेको बताए । पाल्पा जिल्लाको केही भू–भाग बीपीसीएलको आयोजना प्रभावित क्षेत्र पर्ने बताउँदै उनले उक्त क्षेत्रमा पनि कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्य नगरको बताए ।

आयोजना प्रभावित क्षेत्रका जनताले बीपीसीएलमा श्रमदानसमेत गरेको उनको भनाइ छ । विद्युत नियमन आयोगले बीपीसीएलको प्रभावमा परेर मूल्यवृद्धिको स्वीकृति दिएकोसमेत उनले आरोप लगाए । आयोगको निर्णय नै खेदजनक रहेको नेता आचार्यले बताए । नेता आचार्यले जनप्रतिनिधिहरुसँग कुनै छलफल नै नगरी भएको स्वैच्छाचारी निर्णय लागू हुन नदिने बताए ।

अधिवक्ता अर्जुन कुमार अर्यालले कम्पनीको उद्देश्यमाथि नै प्रश्न उठाए । आफूले कम्पनीको वेवसाइडमा कम्पनीको उद्देश्य खोज्दा १७ प्रतिशत नाफा गर्नैपर्ने उल्लेख रहेको बताए । ‘यो मुलुकका ठूला–ठूला साहुजीहरु यो कम्पनीको मालिक रहेछन् । कम्पनीको उद्देश्य रहेछ १७ प्रतिशत नाफा गर्नैपर्ने । कुनै पनि व्यवसायको नाफाको प्रिन्सिपल यति प्रतिशत गर्ने भन्ने हुँदैन । घाटा पनि हुन्छ र नाफा पनि हुन्छ,’– उनले बताए ।

विद्युत प्राधिकरणको भन्दा महँगो शुल्क लिएर रूखको हाँगा–हाँगामा तार लगेको उनको आरोप छ । उपाभोक्ताहरुको ज्यान, धन जोखिममा राखेर बीपीसीएलले नाफा कमाइरहेको उनले बताए । ४३ प्रतिशत मूल्य वृद्धि कानुनी रुपमा पनि गलत रहेको भन्दै आफूहरु थप संघर्षमा उत्रिने बताए । स्याङ्जाको रामपुरमा उपभोक्त रहेको अवस्थामा उपभोक्ता नै नभएको सोही जिल्लाको पुतली बजारमा सार्वजनिक सुनुवाइ गरेर मूल्यबृद्धि गरिएको भन्दै उनले आपत्ति जनाए । मूल्यवृद्धि कानुनी रुपमा त्रुटिपूर्ण र बदनीयतपूर्ण रहेको बताए ।

स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष ईन्द्रबहादुर रिजालले आयोजना प्रभावित जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि कुनैपनि हालतमा स्वीकार्य नरहेको बताए । उनले जनतालाई आतङ्कित पार्ने काम बुटवल पावरले गरेको बताए । जतिसक्दो चाँडो मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनको माग छ ।

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेले बुटवल पावर कम्पनीले आफ्नो प्रगति दैनिक बढाउँदै लगेको अवस्थामा आयोजना प्रभावित जनताको अवस्था जस्ताकोतस्तै रहेको बताए । कम्पनीले धेरैभन्दा धेरै मुनाफा कमाइरहेको अवस्थामा जनताको मागप्रति बेखबर बनेको बताए ।

नेकपा (माओवादी केन्द्र) निकट स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रितम गैरेले आफूहरु मूल्यवृद्धिको विरुद्धमा उभिएको बताए । बीपीसीएलले आयोजना प्रभावित क्षेत्रका जनतासँग विगतमा गरेको सहमति र सम्झौता कार्यान्वयन नगरेको उनले बताए ।

त्यसैगरी वक्ताहरु पत्रकार प्रकाश डुम्रे, शंकर गौतम, भुपराज बस्यालले बीपीसीएलले गरेको मूल्यवृद्धि तत्तकाल फिर्ता हुनुपर्ने बताए । आफूहरुलाई मूल्यवृद्धि कुनैपनि हालतमा स्वीकार्य नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot