Logo

विकासको पहिलो पूर्वाधार अझै सडक नै होः मुख्यमन्त्री कँडेल



सुर्खेत, १४ जेठ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक नै रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा गरेको कार्यक्रममा उनले कर्णाली र भेरी करिडोर निर्माणाधीन रहेको जानकारी दिए । कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता सडक नै रहेको उनले स्पष्ट पारे ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार आगामी दिन सुन्न नपरोस् भन्दै सचेत गराए । कर्णालीका जनताले सहज र ढुक्कसँग यात्रा गर्न नपाएकाले अब त्यस्ता समस्या पार गर्नुपर्ने उनको भनाइ छ ।

सबै निर्माण व्यवसायीको आचरण खराब नभएको बताउँदै बजेट निर्माणमा ध्यान नदिँदा विकास निर्माणका काम अलपत्र परेको उनको जिकिर थियो । अहिले बजेट सुनिश्चित भएका योजनामा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर निकास निकाली काम गर्न निर्देशन दिए । जनताले निवेदन बोकेर मन्त्रालय धाउने परिस्थितिको अन्त्य गर्न उनको निर्देशन छ ।

भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने बताए । उनले कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलीय सर्वपक्षीय छलफल गरी जनताले बुझ्ने गरी योजनाका बारे जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot