Logo

आम नागरिकको अधिकारप्रति अटुट आस्था रहोस् : उपराष्ट्रपति



काठमाडौं, जेठ १५ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १७औँ गणतन्त्र दिवस, २०८१ को अवसरमा आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विगतमा भएका जनआन्दोलन, जनसङ्घर्ष र मधेस जनविद्रोहका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदको स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” सन्देशमा भनिएको छ, “साथै, त्यस क्रममा अङ्गभङ्ग भएका र बेपत्ता पारिएकाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

नेपालको समृद्ध परम्परा, सांस्कृतिक विरासत, देशको प्रगति र उपलब्धिहरुलाई प्रदर्शन गर्न सक्ने गरी गणतन्त्र दिवसलाई एउटा ऐना झैँ मनाउन सक्नुपर्ने सन्देशमा उल्लेख छ । “यो दिवसलाई लोकतन्त्रको पोषकका रुपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ, यसका लागि दृढ सङ्कल्प र बलियो मनमस्तिष्कका साथ हामी सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्दै अघि बढ्न गणतन्त्र दिवसले उत्प्रेरणा प्रदान गरोस्,” सन्देशमा भनिएको छ, “यो दिवसले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, राष्ट्रहित र संविधानसहितको महान् उपलब्धिहरुको रक्षाका लागि एकजुट भई अग्रसर हुन र आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित पनि गर्न सकोस् भन्दै गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्