Logo

गणतन्त्र धरापमा परेको भन्दै उपेन्द्र यादवले फेरि संघर्ष गर्ने



काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको टिप्पणी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका छन् । अहिले गणतन्त्रको स्थान दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र र पुँजीवादी लुटतन्त्रले लिएको यादवको भनई छ ।

उनले संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समतामूलक सम्पन्नताको लागि संघर्ष गर्न अपिल गरेका छन् । साथै, गणतन्त्रलाई स्थापित हुनेगरि संस्थागत गर्नपनि आग्रह गरेका छन् । यादवको शुभकामना यस्तो छ-

जनता ‘तन्त्र’ भनेको गणतन्त्र हो, जनताको राज्य हो अर्थात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । तर, यहाँ गणतन्त्रको स्थान दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र र पुँजीवादी लूटतन्त्रले लिएको छ । संघीयताको स्थान केन्द्रतन्त्र, स्वेच्छाचारितन्त्र र परतन्त्रताले लिएको छ। यसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको छ । संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समतामूलक सम्पन्नताको लागि संघर्ष गरौं । स्थापित हुनेगरी गणतन्त्रलाई संस्थागत गरौं । गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना ।



प्रतिक्रिया दिनुहोस्