Logo

एन आई सी एशिया बैंकद्वारा छुट सम्वन्धी योजना सार्वजनिक



काठमाडौं, जेठ १६ । एन आई सी एशिया बैंकले कर्जा ग्राहकलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्वन्धी योजना सार्वजनिक गरेको हो ।

विसं २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गरिने बैकले जनाएको छ ।

त्यस्तै, मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहक महानुभावको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

हाल बैंकले देशभर ३६० शाखा, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्