Logo

अर्थमन्त्री पुनको बजेट वक्तव्यको ब्रिफकेस ठमेलको “युनिक लेदर ह्याण्डिक्राफ्ट” बाट किनियो, मूल्य जम्मा २५ सय



काठमाडौं, १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैगर्दा चर्चामा रहेको ब्रिफकेस ठमेलको युनिक लेदर ह्याण्डिक्राफ्टबाट किनेको खुलासा भएको छ । उक्त पसलका सञ्चालक नवराज अधिकारीले आफ्नो पसलबाट नै अर्थमन्त्री पुनको सचिवालयका सदस्यले झोला किनेको जानकारी दिए ।

धादिङको ज्वालामुखी–२ का स्थायी वासिन्दा अधिकारी विगत २० वर्षदेखि कारखानासमेत सञ्चालन गरेर बसेका छन् । उनको कारखाना भने नेपालटारमा छ । कारखानाबाट उत्पादन गरिएका सामाग्री ठमेलको जे.पी. रोडमा रहेको युनिक लेदर ह्याण्डिक्राफ्टबाट बेच्छन् । पछिल्लो समय नेपाली उत्पादनहरु स्वदेशी तथा विदेशी दुवै ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गरेको उनको भनाई छ । उनले भने,‘यो पसल यहाँ सञ्चालनमा आएकै झण्डै १० वर्ष भयो, नेपाली उत्पादनहरु अहिले ग्राहकको पहिलो रोजाईमा परेका छन् ।’

अर्थमन्त्री पुनले बोकेको बजेट ब्रिफकेस नेपाली ढाका र अल्लोबाट बनेको हो । अधिकारीले मन्त्री पुनको स्वकिय सचिव जीवन रोका मगर पसलमा आएर उक्त झोला किनेको बताए । उनले भने,‘अर्थमन्त्रीज्यूले नेपाली उत्पादन झोलालाई बजेट वक्तव्यको ब्रिफकेस बनाउनुभयो । हामी खुशी छौं । त्यो झोला मैले २५०० मा बेचेको हुँ ।’

पहिला पहिला बजेट वक्तव्यको ब्रिफकेस विदेशी अनि महँगो कालो लेदरको झोला हुने गर्दथ्यो । यसपटक अर्थमन्त्री पुनले त्यो परम्परा तोडेका छन् । उनले नेपाली उत्पादनलाई प्रयोगमा ल्याएर स्वदेशी उत्पादनको प्रवद्र्धन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्