Logo

मलामी विश्राम गृह निर्माण



जनकपुर, १६ जेठ । स्थानीयको आर्थिक सहयोगबाट धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित शवदाहस्थल रातु मुक्तिधाममा मलामी विश्राम गृह निर्माण गरिएको छ । दाहसंस्कारमा सहभागी हुन आउने मलामीको सुविधाका लागि सो मलामी विश्राम गृह निर्माण गरिएको हो ।

रातु मुक्तिधाम समितिका अध्यक्ष ध्रुवप्रसाद गजुरेलले स्थानीयबाट सङ्कलन गरिएको करिब रु सात लाखको लागतमा विश्राम गृह निर्माण गरिएको बताए । विश्राम गृहमा करिब एक सय जनालाई बस्न फलामका कुर्सी, पानी, बिजुली र वाइफाइको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सोही विश्राम गृह नजिक चन्दा सङ्कलनबाटै तीन लाखको लागतमा दाउरा भण्डारण गृहसमेत निर्माण गरिएको छ । यस कामका लागि कुनै निकायबाट आर्थिक स्रोत उपलब्ध नभएपछि स्थानीयबाट चन्दा सङ्कलन गरिएको अध्यक्ष गजुरेलले जानकारी दिए ।

यही कामका लागि गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको विविध कारणले फिर्ता भएको जनाइएको छ । “मिथिला नगरपालिकाको कार्यालयसँग पनि पटक–पटक सहयोग माग ग¥यौँ, कहीँकतैबाट सहयोग प्राप्त नभएपछि चन्दा सङ्कलन गरेर मलामी गृह र दाउरा भण्डार गृह निर्माण गरेका छौँ”, उनले भने ।

मुक्तिधाम क्षेत्रमा व्यवस्थित शव जलाउने आर्यघाट निर्माण गर्ने समितिको योजना रहेको जनाउँदै उनले यस ठाउँलाई रमणीयस्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । अध्यक्ष गजुरेलले सोही ठाउँ नजिक ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारी समाजको सात लाख आर्थिक सहयोगमा ज्येष्ठ नागरिक चौतारो निर्माण भइरहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्