Logo

देवदह खयरडाँडामा पुनः उत्खनन



लुम्बिनी, १६ जेठ । रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा आजदेखि पुनः उत्खनन सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह –९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।

देवदह नगरपालिकाका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले उत्खननको संयुक्त रुपमा शुभारम्भ गरे । बजेट अभावका कारण पुरातात्विकस्थलको उत्खनन, अन्वेषणमा हुन नसकिरहेको बेला देवदह ले १० लाख बजेट छुट्याएर उत्खनन थालिएको छ । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

सो अवसरमा नगरप्रमुख खरेलले पुरातात्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताए । उनले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्विकस्थलको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्विकस्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रमा उत्खनन हुँदा यसले पुरातात्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका थिए । लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पाँच जनाको टोली उत्खननमा खटिएको छ ।

पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् । उत्खनन आगामी आगामी एक महिनासम्म चल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्