Logo

राससको तस्बिर प्रदर्शनीले गणतन्त्रपछिका पूर्वाधार विकासलाई प्रष्ट्याएको छ : पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ, १६ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गणतन्त्रप्राप्ति पछिका अवधिमा मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका बताएका छन् ।

गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले गणतन्त्र स्थापनापछि नेपालमा ‘केही पनि भएको छैन’ भन्नेलाई फोटो प्रदर्शनीले गतिलो जवाफ दिएको छ भने ।

“खासगरी गणतन्त्र स्थापनापछि विकास निर्माण र रुपान्तरणका क्षेत्रमा भएका विविध गतिविधिको तस्बिर प्रदर्शनीमा राखिनु सकारात्मक पक्ष हो”, पूर्वप्रधानमन्त्री खनालले भने, “गणतन्त्र स्थापनापछिका १६ वर्षमा नेपालमा विकासका गतिविधि के के भए भन्ने विषयलाई प्रदर्शनीले स्पष्ट पारेको छ ।”

पूर्वप्रधानमन्त्री खनाललाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नायब महाप्रबन्धकद्वय राजु शाक्य र सोमनाथ लामिछाने र प्रधान सम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएका थिए। सो क्रममा पूर्वप्रधानमन्त्री खनालले राससको केन्द्रीय समाचार सङ्कलन तथा सम्पादन कक्षको अवलोकन गरी समाचार सङ्कलन, प्रशोधन र प्रकाशनका बारेमा जानकारी लिएका थिए।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । 

   विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन् ।



प्रतिक्रिया दिनुहोस्