Logo

प्रचण्ड र ओली मिलेर मेरो पार्टी फुटाए, अब प्रचण्डको दुर्दशा सुरु भयो : उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको अब राजनीतिक दुर्दशा सुरु भएको बताएका छन् । आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले आफूले प्रचण्डलाई क्रान्तिकारी नेता भएको कारण विगत लामो समयदेखि साथ दिएको तर पछिल्लो समय प्रचण्डले साथ दिनेहरुमाथि नै धोका दिन थालेको बताए । उनले अब प्रचण्डलाई साथ दिनको लागि सबै राजनीतिक दल र तिनका नेताहरुले १० पटक सोच्नुपर्ने दिन आएको टिप्पणी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक रसायन नै नमिलेको दाबी गरे । उनले भने,”उहाँहरुबीच केमेष्टी नै मिलेको छैन् । त्यहाँ भन्छन् नि माओवादीका नेताहरु र अरुले, यहाँ हार्ट मिलेको छैन तर रणनीति मात्रै तत्कालका लागि मिलेको हो भनेर ।”

माओवादी पार्टी फुटाउन लाग्नुभएको हो ? भनेर पत्रकार धमलाले राखेको प्रश्नमा यादवले आफू कसैको पार्टी फुटाउने क्षमता राख्ने नेता नभएको टिप्पणी गरे । माओवादीका नेता जनार्दन शर्माले पार्टी फुटाउन लागेको भन्ने चर्चा आफूले पनि सुनेको भनेर धमलाको कुरामा यादवले हो मा हो मिलाए । प्रचण्डले आफू सिसाको घरमा बसेर अरुको घरमा ढुंगा हान्ने काम गरेकोले त्यो ढुंगा आफ्नो घरमा पनि फर्किनसक्ने यादवको चेतावनी थियो । उनले आफ्नो पार्टी विभाजनबारे प्रधानमन्त्री प्रचण्डले नै भाषण गरेकोले अरुले फुटाएको भनेर भन्दै हिँड्न नपर्ने बताए । उनले आफ्नो पार्टी प्रचण्ड र केपी ओलीले नै फुटाएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्