Logo

ऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान



दमौली (तनहुँ), १७ जेठ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा गाउँपालिकाअन्तर्गतका कर्मचारीको व्यक्तिगत खर्चमा फूलको बिरुवा रोपिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको कर्मचारीको बैठकले ऐनापहरालाई सुन्दर बनाउन एक कर्मचारी एक फूलको बिरुवा रोप्ने निर्णय भएको हो ।

ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यसको सौन्दर्यता कायम गर्न कर्मचारीको व्यक्तिगत खर्चमा गमलासहितको फूलको बिरुवा रोप्ने निर्णय भएको शर्माले जानकारी दिए । त्यसका लागि गाउँपालिकाका कर्मचारीको सहभागितामा ऐनापहरामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माणको काम जारी छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए । चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माण थालिएको छ । उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्