Logo

आफूहरुलाई थर्काएको भन्दै मेटमणि चौधरीले प्रचण्डलाई दिए ‘ननसेन्स व्यक्ति’को संज्ञा (भिडिओसहित)



काठमाडौं, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का सचिव तथा सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको आफूहरुको सहकार्य तोड्ने घोषणा गरेका छन् । उनले आफूहरुले विश्वासको मत दिँदापनि प्रधानमन्त्री प्रचण्डले उल्टै थर्काउने काम गरेको दाबी गरे । हिमालय टिभीको समय सन्दर्भ कार्यक्रममा पत्रकार जीवन खड्कासँगको कुराकानीमा नेता चौधरीले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्डसँगको चित्तदुखाई राजनीतिक रुपमै हो, प्रचण्डलाई विश्वासको मत हामीले दियौं । उल्टै हामीलाई नै थर्काउने काम गर्नुभयो । एउटा राजनेतामा त्यस्तो विशेषता हुन्छ ? त्यस्तो पनि चरित्र प्रदर्शन गर्ने हो ? प्रधानमन्त्री बनाउनको लागि हामीले भोट हालेका छौं । हाम्रो कारणले अरुले पनि भोट हालिरहेका छन्, तर हामीलाई थर्कारहेका छन, भनेपछि यो जत्तिको ननसेन्स व्यक्ति र व्यक्तित्वहरु दुनियाँमा अरु को हुन्छ ?’

कुराकानीको क्रममा उनले प्रधानमन्त्री दाहालबाट अब देश नचल्ने पनि दाबी गरे । उनले भने,‘उनीबाट देश अब चल्दैन् । सधैंभरि आफ्नो कुर्सी जोगाउनको लागि जे पनि, जोसँगपनि अनि जतिखेरपनि गरिराख्छन् । त्यसको पछिपछि हामी लागिराख्नुपर्ने जरुरी पनि छैन् । हिजो त्यो अवस्था थियो, अब हामी ब्रेक गर्छौं । राजनीति एउटै तरिकाले चल्दैन् ।’

उनले अहिले प्रचण्डलाई साथ दिनेहरु सँगै नरहने जिकिर गरे । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएपनि प्रधानमन्त्री दाहालसँग सहकार्य नगर्ने चौधरीको दाबी छ । उनले अहिले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुष्चक्रमा फसाउने काम गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्