Logo

राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने



मुग्लिन (चितवन), १७ जेठ । चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।

नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख लामाले जानकारी दिए ।

नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा भाषाको समस्या भएकाले पठनपाठनमा सहज बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताए । उनले भने, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुदैँ आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।”

यसअघि राती नगरपालिका र नेपाल तामाङ घेदुङ राप्तीको संयोजनमा तामाङ समुदायको स्थानीय भाषा नीति तथा मातृभाषासम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो । लोप हुँदै गएको तामाङ भाषा संरक्षण र तामाङ विद्यार्थीमा देखिएको भाषागत समस्याको समाधानलगायतका विषयमा नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, शिक्षा समिति, विभिन्न सङ्घ संस्था तथा समाजिक व्यक्तिहरुसँग छलफल गरिएको नगर प्रमुख लामाले बताए ।

सुरुआतमा कक्षा १ मा तामाङ भाषामा पढाइ हुने नगारपालिकाले जनाएको छ । चालू शैक्षिक सत्रमा १० विद्यालयमा तामाङ भाषाको कक्षा सञ्चालन गरिने छ । आगामी शैक्षिक सत्रदेखि चेपाङको बाहुल्यता रहेका विद्यालयमा चेपाङ भाषाको कक्षा पनि सञ्चालन गरिने बताइएको छ । राप्ती नगरपालिकामा ४९ सामुदायिक विद्यालय छन् । रासस



प्रतिक्रिया दिनुहोस्