Logo

पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकारबारे जानकारी नै हुन सकेको छैनः मन्त्री चौधरी



काठमाडौँ, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरेपनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएकी छन् ।

राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भएपनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएकी हुन् ।

आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नगर्ने गरेको उनको भनाइ छ । बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेर महिलाहरू आफूले पाउनुपर्ने समान अधिकारबाट बञ्चित भइरहेको बताईन् ।

यस्ता कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको बताउँदै उनले महिलाको अधिकारका लागि एकजुट हुनुपर्ने आवश्यत्ता औंल्याईन् । महिला अधिकारसँग सम्बन्धित धेरै कानूनहरू बनेको भएपनि कार्यान्वयनको अवस्था एकदमै कमजोर रहेको उनको भनाइ छ । उनले महिला अधिकारलाई सुनिश्चितता गराउनका निम्ति अझै मेहनत गर्न गर्नुपर्ने अवस्था रहेको बताईन् ।

‘सबैको बजेट बढ्दै गयो तर महिला मन्त्रालयको बजेटको सिंहावलोकनहरू झन् घट्दै गयो । पितृसत्तात्मक सोचलाई चिर्न आवश्यक छ । मन्त्रीको रूपमा मैले पनि सकेन र स्वयं राष्ट्रिय योजना आयोगमा रहनुभएका माननीय सङ्गीताज्यूले पनि सक्नुभएन,’– मन्त्री चौधरीले भनिन्, ‘हामीसँग अहिले ७५३ वटै पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभियो । तर अहिले महिला मन्त्रालयको तल संरचना नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ । त्यो सेवाग्राही स्वयंले पनि महसुस गरिरहनुभएको छ ।’

अहिलेसम्म निर्माण भएका ऐन, कानूनको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने मन्त्री चौधरीको भनाइ छ । अहिले बालविवाहको अवस्था विकराल बन्दै गएको भन्दै उनले यसको न्यूनीकरणका निम्ति पनि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताईन् । ‘अहिले पनि बालविवाहको अवस्था विकराल बन्दै छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।’

अप्ठ्यारोमा परेका, हिंसामा परेका महिलाहरूका निम्ति राज्यले नै उनीहरूको सुरक्षा गर्न सेल्टर हाउसहरू बनाउन आवश्यक रहेको मन्त्री चौधरीले बताईन् । महिला दिवस मनाउनुको औचित्यता रहेको बताउँदै यी कुरालाई सबैले आत्मसाथ गर्न आवश्यक रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्