Logo

भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान



काठमाडौं, जेठ १९ । भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ ।

पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदैछ ।

लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा रहेका छन्। यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् ।

सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रमहरू आयोजना गरेका छन्। यसमा ¥यालीहरू र रोड शोहरू समावेश थिए ।

आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुगेका थिए। ध्यान आजसम्म जारी रहनेछ । ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गरिरहेको बताइएको छ ।

लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot