काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । नागरिक उन्मुक्ति पार्टी र जसपालाई तत्काल सरकारमा सहभागी गराउनुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री दाहालले आफ्नो दलबाट एक जना मन्त्री फिर्ता बोलाउने तयारी गरेका थिए । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ यसपटक पनि आँफै सरकारमा सहभागी हुने तयारीमा छिन् ।
प्रधानमन्त्री दाहालसँगको कुराकानीमा उनले आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व दिने सहमति भएको खुलासा गरेकी छिन् । हाल सो मन्त्रालयको नेतृत्वमा माओवादीका हितबहादुर तामाङ छन् । उनी मन्त्री भएको तीन महिना पुगेको छ ।
उनलाई मात्रै फिर्ता बोलाउँदा नराम्रो सन्देश जाने भन्दै प्रधानमन्त्री दाहालले यसअघिको पूनर्गठनमा नपरेका मन्त्रीहरुलाई फिर्ता बोलाउनेगरि गृहकार्य थालेका छन् । प्रधानमन्त्री दाहालले अहिलेका अर्थमन्त्री वर्षमान पुनबाहेक आफ्नो दलबाट सरकारमा सहभागी भएका सबै मन्त्रीहरु फिर्ता बोलाउने भएका छन् ।
अहिले माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री, रेखा शर्मा सञ्चारमन्त्री, शक्तिबहादुर बस्नेत उर्जामन्त्री र हितबहादुर तामाङ पर्यटनमन्त्री छन् । सत्ता समिकरणको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री दाहालले यसै साता मन्त्रिपरिषद् पूनर्गठनको निर्णय लिनेछन् । file photo