Logo

प्रतिनिधिसभाको बैठकको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शारीरिक अपाङ्गता भएका व्यक्तिको अधिकारदेखि, सडक पूर्वाधार, ठूला आयोजनामा बजेट अभाव, आगलागी पीडितलाई राहतदेखि किसानलाई मलखादको व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद विद्या भट्टराईले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनका अनुसार अपाङ्गता र अशक्त व्यक्तिको हक कार्यान्वयनका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, बजेट अभावले कार्यान्वयन गर्न नसक्ने जानकारी पाएपछि विगत ३७ दिनदेखि आमरण अनशनमा रहेको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै पीडितको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिना लामाले नागढुङ्गादेखि धादिङ्को गल्छीसम्मको सडक दुरावस्था रहेको र सर्वसाधरणले निकै सास्ती बेहोर्नुपरेको जनाउँदै सडक स्तरोन्नति चाँडो गर्न सरकारसमक्ष माग गरिन् । सांसद विनिताकुमारी सिंहले तराई–मधेशलगायत देशका विभिन्न स्थानमा आगलागीको घटनाबाट करौडौँको क्षति र हजारौँ विस्तापित भएको भन्दै गरिब र पीडित परिवारका लागि राहत र बसोबासको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद वीरबहादुर बलायरले महिला राजनीतिज्ञ द्धारिकादेवी कठुरानीको डोटीमा स्मृत भवन बनाउने कार्य अघिल्लो वर्ष सुरु भए पनि यो वर्ष बजेट व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद श्यामकुमार घिमिरेले कमला नदी नियन्त्रणका लागि बर्सेनि बजेट विनियोजन भए पनि प्रयाप्त रकम नहुँदा निर्माणकार्य प्रभावकारी हुन नसकेको भन्दै निश्चित समयमा काम सम्पन्न हुनेगरी बजेट विनियोजना गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्ति विकले आगामी आवको बजेट परम्परागत भएको टिप्पणी गरिन् । सांसद शान्ति श्रेष्ठले गोकर्ण–वाग्मती योजना करिडोरको अवस्थाबारे जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद शिव नेपालीले अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई पहिचान गराउने नेपाली क्रिकेट टिमको हौसलाका लागि पूर्वाधार विकासमा ध्यान दिन माग गरे ।

सांसद शिशिर खनालले शिक्षामन्त्री सुमना श्रेष्ठमाथि पोसाकलगायत विभिन्न विषयमा भइरहेको टिप्पणीप्रति सरोकारवालाको ध्यानाकर्षण गराए । सांसद शेरबहादुर कुँवरले अछामको बुढीगङ्गा जलविद्युत् परियोजना निर्माणलाई बजेट सुनिश्चितता गर्न माग गरे ।

सांसद शोभा ज्ञवालीले किसान धानबाली लगाउने तयारीमा रहेकाले विगतका वर्षझै यो वर्ष पनि मल नपाएर समस्या बेहोररिहेको भन्दै उनीहरुलाई सहज रुपमा मलखादको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरनइन् । सांसद सन्तोष परियारले बर्खाको समयमा देशका विभिन्न जिल्लाको सडक दुरावस्था रहेको भन्दै आम जनता आवतजावत गर्ने सडकमार्ग स्तरोन्नितिका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सपनाराज भण्डारीले ठूलो सङ्ख्याका विद्यालय जाने उमेरका बालबालिका कुलतमा फसिरहेको भन्दै उनीहरुको शैक्षिक पठनपाटनको व्यवस्था गर्न माग गरे । सांसद सम्झना थपलियाले पछिल्ला दिनमा तराईमा खानेपानीको समस्या देखिएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद स्वर्णिम वाग्लेले तनहुँस्थित पृथ्वी राजमार्गको अम्रेनीमा हालै पानी ट्याङ्करले ठक्कर दिँदा इञ्जीनीयर प्रवीण कैनीको दुःखद् निधन भएको भन्दै दोषीलाई कारबाही र मृतकलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गरे ।

सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गइयोस्

बैठकमा सांसद शङ्कर भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको सन्दर्भमा भइरहेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद सरस्वती बजिमयले सहकारी पीडित जनतालाई न्याय दिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद सरस्वती सुब्बाले मनसुनी विपद्को जोखिम न्यूनीकरणका लागि बेलैमा आवश्यक तयारी गर्न माग गरिन् ।

सांसद सीता मिजारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याजेज हराउन, चोरी हुनेजस्ता घटना बढिरहेको भन्दै समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुनिता बरालले विद्युत् आपूर्ति सहज नहुँदा २४ घण्टा सञ्चालन हुने उद्योग कलकारकाना सञ्चालनमा कठिनाइ भइरहेको भन्दै उद्योग सञ्चालनको सहजीकरणका लागि सभामुखमार्फत सरकारको धयनाकर्षण गराइन् ।

सांसद सुशीला थिङले सदनमा कतिपय सन्दर्भमा असंसदीय अभ्यास हुनेगरेको भन्दै सदनलाई मर्यादित ढङ्गले सञ्चालनको वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गरारिन् । सांसद सुशीला श्रेष्ठले तमोर करिडोर बाटो निर्माण चाँडो सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराइन् ।

सांसद सोबिता गौतमले काठमाडौँ उपत्यकामा भइरहेको खानेपानीको अभाव समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुहाङ नेम्वाङले जेठ २१ गते इलामको चुलाचुलिस्थित रतुवाखोलामा पुल निर्माणको कार्य शीघ्र सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु सांसद सञ्जयकुमार गौतम, सूर्य थापा, सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सरिता भुषाल, शान्ति चौधरी, सीताकुमारी राना, सोनु मुर्मु, सांसद हर्कमाया विश्वकर्माले विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारी गर्न माग गरे। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot