Logo

अब नेपाल–भारतबीच बाँकी रहेको सिमा विवाद पनि हल हुन्छ : पूर्वराजदूत रञ्जित राय



काठमाडौं, २३ जेठ । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले नेपाल–भारतबीचको सिमा विवाद हल हुने दाबी गरेका छन् । नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकाल सुरु हुन लागेको र यो कार्यकालमा नेपाल–भारतबीच सुमधुर सम्बन्ध हुने र बाँकी रहेका सिमा विवाद समाधान हुने उनको दाबी छ ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘अब पोलिसी लेभलमा दुई देशबीच राम्रो सम्बन्ध हुन्छ । अहिलेपनि हाम्रो सम्बन्ध बिग्रिएको छैन् । सिमा विवाद जति छ, समाधान गरेर जाने हो । ९८ प्रतिशत सिमा विवाद हल भैसकेको छ, अब २ प्रतिशत बाँकी छ । त्यो पनि वार्ता र सहमतिबाट टुँगो लगाउनुपर्छ ।’

नेपालको अहिलेको डेमोक्र्याटिक सिस्टम बलियो भएको हेर्ने आफूहरुको चाहना रहेको पनि उनले बताए । तर, नेपालमा कस्तो व्यवस्था ल्याउने वा के गर्ने भन्ने कुरा नेपाल र नेपाली जनताले तय गर्ने विषय भएको उनको टिप्पणी छ । रायले नेपालका प्रधानमन्त्री पुष्कमपल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच राम्रो सहकार्य हुने विश्वास दिलाए ।

उनले भने,‘उहाँहरु मिलेर जानुहुन्छ ।’ चीनको बिआरआई अनुदानमा लिने वा नलिने भन्ने कुरा पनि नेपालले निर्णय लिने कुरा भएको भन्दै यसमा आफूहरुको चासो नरहेको रायको भनाई छ । तर, नेपालको राजनीतिमा चिनियाँ हस्ताक्षेप र चलखेल बढेको उनको आरोप छ । उनले भने,‘अहिले प्रधानमन्त्री प्रचण्डजीलाई चीनको दबाब बढेको छ । खासगरी बिआरआई अघि बढाउनको लागि नेपाल सरकारमाथि चीनले दबाब बढाएको छ ।’

Photo By: Arjun Bhandari/Prime Times T.V.-New Delhi



प्रतिक्रिया दिनुहोस्