वासिङ्टन डिसी, २३ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ‘हश मनी’ दोषी ठहरिएपछि मङ्गलबार पहिलो पटक सन् २०२४ को राष्ट्रपतीय मनोनयनका लागि प्राथमिक निर्वाचनको अन्तिम चरणमा रिपब्लिकन मतदाताहरूको सामना गरेका छन् ।
पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा (हश मनी) दिएको आरोप लगाएका छन् ।साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेको थियो ।
पूर्व राष्ट्रपतिले मोन्टाना, न्यू जर्सी, न्यू मेक्सिको र साउथ डकोटामा रिपब्लिकन मत प्राप्त गरेसँगै उनले राष्ट्रपति जो बाइडेनबिरूद्ध आफ्नो मनोनयन सुनिश्चत गरेका छन् ।
केही राजनीतिक पर्यवेक्षकहरूले सन् २०१६ को चुनावलाई गैरकानुनी रूपमा प्रभाव पार्ने षड्यन्त्रमा झुठो व्यापारिक रेकर्ड बनाएको आरोपमा गत हप्ता दोषी ठहरिएपछि रिपब्लिकन मतदाताहरूले ट्रम्पको विभाजनकारी उम्मेद्वारीको विरोध गर्न सक्ने सन्देह व्यक्त गरेका थिए ।
ट्रम्पको अन्तिम रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीले आफ्नो अभियान अन्त्य गरेको दुई महिनापछि पनि इन्डियाना राज्यमा मे महिनामा भएको प्राइमरीमा लगभग २२ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी मङ्गलबार न्यु मेक्सिकोमा ट्रम्पले ८५ प्रतिशत र हेलीले नौ प्रतिशत मत प्राप्त गरेका थिए ।
हेली उम्मेद्वार नरहेको मोन्टाना राज्यमा ट्रम्पले लगभग ९१ प्रतिशत मत प्राप्त गरे । न्यु जर्सी र साउथ डकोटामा पूर्व राष्ट्रपति ट्रम्प निर्विरोध मनोनित भएका हुन्।
हेलीले मेरिल्याण्डको रिपब्लिकन प्राइमरी मतदाताको पाँचौं, नेब्रास्कामा १८.५ प्रतिशत र वेस्ट भर्जिनियामा ९.४ प्रतिशत मत प्राप्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घकी पूर्व राजदूत हेलीले ट्रम्पलाई समर्थन गरिसकेका छन् । रासस