काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूहरु वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताएका छन् । अहिलेको सरकारपक्षको समिकरण बनाउन आफूहरु निर्णायक रहेको उल्लेख गर्दै यसको निरन्तरताको पक्षमा रहेको स्पष्ट पारे । सरकारले ल्याएको बजेटमाथि पार्टीले आयोजना गरेको समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘यो सत्ता समीकरण बनाउने हामी मुख्य साझेदार हौँ। र, यो समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहन्छौँ। त्यसैले बीचमा दायाँबायाँ हुने अवस्था छैन। यो बीचमा केही गर्छौँ कि भन्न मनसाय छैन। ०८४ सम्म जानको लागि यो सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी होस् भन्ने हाम्रो चिन्ता हो।’
उनले आफूहरु सत्ता साझेदार दल भएकोले सरकार प्रभावकारी होस भनेर नै आलोचना तथा सुझाव दिने गरिएको स्पष्ट पारे । उनले भने,‘हामी साझेदार भएकाले प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनोस्, जनताको अपेक्षामा खरो उत्रियो भन्ने चाहेका छौँ। बजेट निर्माणमा त्यो कुरामा चाहिँ ख्याल पुगेन कि ध्यान गएन कि, सत्ता साझेदार दलहरूसँग पर्याप्त परामर्श गरेका भए कमी कम हुन्थ्यो कि भनेका हौँ। यसलाई असहमति मान्नुहुन्छ भने असहमति पनि हो। सुझाव मान्नुहुन्छ भने सुझाव पनि हो।’
उनले आफूहरु बजेटको विपक्षमा नजाने जिकिर गरे । उनले भने,‘हामी बजेटको पक्षमा रहन्छौँ भनेका छौँ। हामी बजेटको विपक्षमा जान्दैनौँ। बजेट आइनै सक्यो। कमी देखिए कार्यान्वयन प्रक्रियामा सुधार गरेर जानुपर्छ भन्ने हाम्रो बुझाइ छ। बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध होइन। सरकारलाई सफल बनाउन दिएको सुझाव हुन्।’