Logo

इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घीय विद्यालयमा घातक हमला



गाजा, प्यालेस्टिनी क्षेत्र, २४ जेठ । इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्र सङ्घीय विद्यालयमा हमास कार्यालय परिसर रहेकोे भन्दैे गरेका घातक हवाइ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको गाजाको एक अस्पतालले जनाएको छ ।

इजरायली सेनाले मध्य गाजाको नुसिरात क्षेत्रमा रहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय (युएनआरडब्लुए) विद्यालयभित्र रहेको हमासको कार्यालय परिसरमा इजरायली हवाइ आक्रमण हुँदा कैयौँ ‘आतङ्ककारी’ को मृत्यु भएको बताएको छ ।

हमास नियन्त्रित सञ्चारमाध्यमले यसलाई गैरमानवीय भयानक नरसंहार बताएको छ ।

इजरायलले गाजामा हमास र यसका सहयोगीहरूलाई विद्यालय, स्वास्थ्य सुविधाहरू र अन्य नागरिक पूर्वाधारलाई परिचालन केन्द्रका रूपमा प्रयोग गरेको आरोप बारम्बार लगाउदै आएको छ ।

इजरायलले गाजालाई लगभग सबै सहयोगको समन्वय गर्ने युएनआरडब्लुएलाई आफ्नो १३ हजार कर्मचारीहरू मध्ये करिब एक दर्जनलाई आक्रमणमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएदेखि नै सहयोग अभियानमा समस्या परेको छ । युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले गत हप्ता न्युयोर्क टाइम्सले प्रकाशित गरेको एउटा लेखमा इजरायलले ‘युएनआरडब्लुए विरुद्धको आफ्नो अभियान रोक्नुपर्छ’ भनेका थिए ।

गाजाको अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण युद्ध हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको हो ।

इजरायलले युद्धको सञ्चालनलाई लिएर बढ्दो कूटनीतिक आलोचना खेप्नु परेको छ । इजरायलबिरूद्ध दुई अन्तर्राष्ट्रिय अदालतहरूमा मुद्दा दायर गरिएको छ र केही युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot