Logo

टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत



काठमाडौं, जेठ २५ । आईसीसी टि-२० विश्वकप २०२४ को समूह चरणमा गएराती सम्पन्न खेलमा पाकिस्तानलाई सह आयोजक अमेरिकाले सुपर ओभरमा हराएको छ ।

अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको हो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो । सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए ।

१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए ।

अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए । स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन ।

शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए ।

अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।



प्रतिक्रिया दिनुहोस्