Logo

म्यान्मामा सर्वसाधारणमाथि गरिएको सैन्य हमलाको ‘कडा निन्दा’



संयुक्त राष्ट्रसङ्घ, २५ जेठ । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बिहीबार म्यान्माका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गरेका छन् ।

“महासचिव गुटेर्रेसले म्यान्मा सेनाले नागरिकहरूको ज्यान लिने गरी रखाइन राज्यमा गरेको आक्रमणको कडा निन्दा गर्नुभएको छ,” गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारूढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बल्झिएको हो ।

एएले करिब छ लाख उत्पीडित रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको रखाइन राज्य आफ्नो जातीय जनसङ्ख्याको थप स्वायत्तताका लागि लडिरहेको बताएको छ ।

यस हप्ता राज्यको राजधानी सिट्वेको उत्तरमा रहेको ब्येन फ्यु गाउँमा गरिएको खोजतलास र कारबाहीका क्रममा जुन्टा सेनाले ७० भन्दा बढी रखाइन नागरिकहरूको हत्या गरेको बताइएको छ । जुन्ताले भने उक्त दाबी केबल हल्ला भएको बताएको छ ।

रखाइन राज्यका विभिन्न भागमा फोन र इन्टरनेट सेवा काटिएसँगै यहाँका नागरिक सञ्चारको सुविधाबाट वञ्चित रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्