काठमाडौं, २५ जेठ । भारतीय प्राध्यापक एस.डी. मुनीले नेपालमा कुनैपनि हालतमा पनि राजसंस्था नफर्किने दाबी गरेका छन् । यस्तै, उनले नेपाल धर्मनिरपेक्षतामा अघि बढेकोले अब हिन्दूराष्ट्रपनि पूनस्र्थापना नहुने जिकिर गरे । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले नेपालका ठूला दलका शीर्ष नेताहरुको जनमत घटेको टिप्पणी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको जनमत घटेको दाबी गरेका हुन् ।
उनले भने,‘अहिले नेपालका शीर्ष नेताहरुको जनमत घटेको छ । अहिले देखिएकामध्ये प्रचण्ड अलिक बेटर हुन् ।’ उनले आफूले नेपाल–भारत सम्बन्ध र नेपालमा राजनीतिक परिवर्तनको लागि पाँच दशक लामो समयसम्म काम गरेको पनि दाबी गरे । उनले भने,‘मैले त ५० वर्ष नेपाल र भारत सम्बन्धको बारेमा काम गरें । नेपालमा मैले सिस्टमको पक्षमा काम गरेको छु । कतिपयले मलाई प्रचण्ड र माओवादीको एजेन्टपनि भनें । मकहाँ विपी कोइराला, पुष्पलाल, गिरिजाबाबु सबै आउँथे ।’
उनले नेपालले चीनको बीआरआई परियोजना ऋणमा लिन नहुने धारणा राखे । उनले भने,‘अहिले नेपालमा चीनको दबदबा छ । नेपाल श्रीलंका बन्छ । म भन्छु नेपालले बिआरआईको ऋण लिनै हुँदैन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र भयो । चीनको ऋण लिँदा नेपाल आर्थिक रुपमा सिद्दिन्छ । अझै ठूलो संकटमा पर्छ ।’
मुनीले भारतमा लोकसभाको निर्वाचन सम्पन्न भएको र भाजपाको नेतृत्वमा गठबन्धन सरकार बन्ने भएकोले अब बन्ने सरकारले नेपाल नीतिमा खासै परिवर्तन नगर्ने दाबी गरे । उनले नरेन्द्र मोदीको नेपाल नीति पनि परिवर्तनत नहुने स्पष्ट पारे ।
Photo By: Arjun Bhandari/Prime Times T.V.-New Delhi, India.