काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टीका कोषाध्यक्ष तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतो गृहजिल्ला पुगेका छन् । पार्टी विभाजनपछि महतो आज पहिलोपटक गृहनगर पुगेका हुन् । सिराहा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका नेता महतो यो बीचमा काठमाडौंमा नै संसदीय गतिविधिमा व्यस्त थिए ।
उनी सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका साथ सहभागी थिए । बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिएपछि मात्रै उनी आज गृहजिल्ला पुगेका हुन् । उनी काठमाडौंबाट जनकपुर हवाईजहाजमार्फत ओर्लिएका हुन् ।
उनलाई जनकपुर विमास्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । जनकपुरबाट सिराहासम्म उनी गाडीहरुको लावालस्करसहित पुगेका थिए । सिराहाको मुख्य व्यापारिक केन्द्र मानिने मिर्चैयाको कटारी चोकमा उनी पार्टीका सो निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ता भेला कार्यक्रममा सरिक भए ।
उनले सो क्रममा पार्टी विभाजनको औचित्य प्रष्ट्याएका थिए । उनले आफूहरुले लिएको निर्णय र चालेको कदम छिट्टै सही सावित हुने दाबी गरेका थिए । पार्टी पँक्तिका नेता तथा कार्यकर्ताहरु गोलबन्द भएर आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्नुपर्ने उनको सुझाव थियो ।