Logo

घरेलु कामदारसम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग



काठमाडौं, २६ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घरेलु कामदारहरु असुरक्षित एवं शोषित भईरहेको बताएका छन् । असुरक्षित एवं शोषित भईरहेका घरेलु कामदारहरुका लागि सरकारले तुरुन्त घरेलु कामदारसम्बन्धी कानून निर्माण गर्नुपर्ने उनको माग छ ।

आजपानिकट आम ट्रेड युनियन फेडरेशन नेपालको आज (शनिबार) काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु कामदारहरुको हकहित एवं अधिकारसहितको कानून निर्माण हुनुपर्ने बताए ।

‘घरेलु कामदारहरु शोषित एवम् पीडित भएका छन् । उनीहरु असुरक्षित छन् । मालिकले काममा लगाउँदासम्म काम पाउने र मालिकले जुनबेला मन लाग्छ त्यहीबेला उसलाई निकाल्न पाउनेजस्तो देखिएको छ, घरेलु कामदारको पारिश्रमिक समेत थोरै हुने । उनीहरुलाई चाडपर्व आउँदा होस वा कुनै भईपरि विदा समेत नपाई मालिकको दबाबमा काम गरिराख्नुपर्ने हुन्छ’ आजपा अध्यक्ष साहले भने, ‘नेपालमा अहिलेसम्म घरेलु कामदारका लागि कुनै कानून निर्माण भएको छैन् । म आउने दिनमा यसबारेमा संसदमा आवाज उठाउँछु । घरेलु कामदारका लागि कानून निर्माणको पहल गर्छु ।’

नेपालमा घरेलु कामदारसम्बन्धी कुनै कानून नभएकाले यहाँ घरेलु कामदारहरु मालिबाट पीडित भएको र कामअनुसारको पारिश्रमिक समेत नपाउने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए । घरेलु कामदारसम्बन्धी केही देशमा कानून निर्माण भएकाले त्यहाँ घरेलु कामदारको अधिकार सुरक्षित रहेको र काम अनुसारको पारिश्रमिक समेत पाउँने गरेका छन् ।

घरेलु कामदार सम्बन्धी कानून निर्माणका लागि घरेलु कामदारले समेत आवाज उठाउनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्