काठमाडौं, २६ जेठ । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा निवर्तमान रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सम्बन्ध सुमधुर रहेको र आगामी दिनमा यसलाई अझै सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ दिल्लीस्थित् भाजपाको मुख्यालयमा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा पूर्व अध्यक्ष सिंहले यस्तो दाबी गरेका हुन् ।
उनले नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालमा दुई देशबीच सम्बन्ध प्रगाढ हुने दाबी गरे । उनले आफूहरुले नेपाललाई उच्च प्राथमिकतामा राखेको पनि प्रतिक्रिया दिए । प्रधानमन्त्री मोदीले यसअघिका दुई कार्यकालमा पनि नेपाल-भारत सम्बन्ध सुदृढ गर्न उल्लेखनीय काम गरेको उनको दाबी छ ।
उनले नेपालको विकास र समृद्धिमा भारत सरकारले सधैं सकारात्मक सहयोग गर्ने पनि विश्वास दिलाए । मोदीले भोलि प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहालपनि उक्त शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । सो क्रममा प्रधानमन्त्री दाहालले मोदीसँग विशेष भेटवार्ता गर्ने बताईएको छ ।
तस्विर : अर्जुन भण्डारी-प्राइम टिभी/नयाँ दिल्ली, भारत