काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल र भारतबीच जनस्तरमा नै घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सम्बन्ध हार्दिक हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद खड्काले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेकोले नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालमा दुई देशबीचको सम्बन्ध नयाँ उचाईंमा पुग्ने विश्वास दिलाए । उनले भारत सबै हिसाबले नम्बर एक देश बन्न सकोस भन्ने शुभकामना पनि दिए ।
भारतसँगको सम्बन्धमा नेपालको तर्फबाट पनि संयमित भूमिका निर्वाह हुनुपर्ने र कुनैपनि किसिमको उग्रता देखाउन नहुने उनको सुझाव थियो । पत्रकार धमलाले मोदीको तेस्रो कार्यकालमा नेपाल–भारत सम्बन्ध कस्तो हुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने–‘मोदीजीको यो कार्यकालमा नेपाल र भारत सम्बन्ध बास्तवमै भारतले नेपाललाई सधैंभरि विकास, लोकतन्त्र र मानवअधिकारको कुराहरु गरिनै राखेको छ । यद्धपी भारतका पनि आफ्ना सुरक्षाका चासोका विषयहरु छन् । अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालले पनि भारतका कतिपय विषयहरुमा सहकार्य गरोस भन्ने खालको उसको पनि चाहना होला । तर, हामीले पनि भारतसँगको सम्बन्धलाई अझै उचाईंमा पुर्याउनको लागि हाम्रो तर्फबाट कुनै उग्रता, उत्ताउलो राष्ट्रवाद प्रदर्शन नगरिकन हाम्रो नेपालको हित के गर्दाखेरि हुन्छ ? यसमा हाम्रो नेतृत्व कसरी सुझबुझका साथ अघि बढ्छ ? त्यो हेर्नुपर्छ । मैले फेरिपनि भन्छु कि उत्ताउलो राष्ट्रवादको नारा बोकेर नेपाल भारत सम्बन्ध सुमधुर हुन सक्दैन् ।’
भारतसँगको सम्बन्ध राम्रो बनाउनको लागि नेपालले पनि पहल गर्नुपर्ने उनको सुझाव छ ।