काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी, नेपालले नेकपा एमाले आउँदा केही वर्षभित्रैमा पतन हुने टिप्पणी गरेको छ । जनकपुरधाममा आजबाट सुरु भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ–‘नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरुङभित्रको यात्रा गरिरहेको छ । हामीले यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने दार्शनिक, वैचारिक रुपमा अन्योलग्रत र नैतिक रुपमा स्खलित भइसकेका पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र कम्युनिष्ट पार्टीहरु भविष्यमा फेरि उठ्न नसक्नेगरि पतनको दिशामा अभिमुख छ । एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ । कम्युनिष्ट पार्टीका ठूलाठूला नेताहरु भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदाङ्ग्दिै छन् ।’
जसपा, नेपालले कांग्रेस, कम्युनिष्टजस्ता पार्टीहरुले विकास, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको चर्को नारा लगाएपछि त्यो भ्रम फैलाउनुबाहेक अरु हुन नसक्ने टिप्पणी गरेको छ । कांग्रेस र कम्युनिष्टहरुको सोच, संस्कार र सिद्धान्तको सीमाले ती कार्यभार उनीहरुबाट पूरा हुने सम्भावना नभएको जसपा, नेपालको ठहर छ । प्रतिवेदनमा भनिएको छ–‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटेपनि व्यवहारतः त्यो ‘दरित्र नेपाल र दुःखी नेपाली’ नै हुनेछ । वैचारिक तथा संस्थागत संरचनात्मक दोषहरुले गर्दा चाहेर भएपनि उनीहरुले समृद्धिकरणको युगको नेतृत्व लिन सक्ने सम्भावना रहन्नँ । उपरोक्त कार्य हाम्रो पार्टी जनता समाजवादी पार्टी, नेपालले मात्र पूरा गर्न सक्दछ ।’