Logo

०८४ पछि एमालेले केपी ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई राष्ट्रपति बनाउन चाहेको छ : अमरेशकुमार सिंह



काठमाडौं, २८ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पाँचै वर्ष कार्यकाल पूरा गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएकै दिन सिंहले यस्तो खुलासा गरेका हुन् ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले वर्तमान सरकारले पाँच वर्ष पूरा गर्ने दाबी गरेका हुन् । उनले भने-“जहाँसम्म यो सरकार हो, नेपालको पहिलो सरकार हन्छ जो पाँच वर्ष पूरा गर्छ । अहिले तत्काल उहाँ (प्रचण्ड) को विकल्प देखिँदैन् । किनकी कांग्रेस र एमाले मिल्न सक्दैनन् । उनीहरु देशभित्रको कारणले पनि मिल्न सक्दैनन्, र देशबाहिरको बाहृय शक्तिले पनि मिल्न दिँदैनन् । एमाले र कांग्रेस मिलेर सरकार बनाए भने त यहाँ स्थिर र बलियो सरकार बन्छ । तर, कुनैपनि विदेशीले नेपालमा बलियो सरकार चाहँदैनन् । उसलाई कमजोर सरकार भयो भने हल्लाउन सकिन्छ । मैले एउटा शक्तिको कुरा गरेको होईन, अन्तर्राष्टिय शक्तिको कुरा गरेको हो । त्यो शक्ति पश्चिमा पनि हुनसक्छ, दक्षिण पनि हुनसक्छ, अथवा उत्तरपनि हुनसक्छ । उनीहरुले कमजोर सरकारलाई आफ्नोअनुकुल प्रयोग गर्न सक्छ । त्यसकारण कांग्रेस र एमाले सरकार बन्ने म कुनै सम्भावना पनि देख्दिनँ ।”

उनले प्रधानमन्त्री प्रचण्ड अहिलेको भविष्यभन्दापनि २०८४ को निर्वाचनको भविष्यप्रति बढि सजग रहेको टिप्पणी गरे । उनले भने,”जहाँसम्म प्रधानमन्त्री प्रचण्डजीको कुरा हो, उहाँ आफ्नो अहिलेको भविष्यभन्दापनि २०८४ को निर्वाचनपछिको भविष्यप्रति बढि चिन्तित हुनुहुन्छ, सजग हुनुहुन्छ । अब उहाँले २०८४ को निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न सक्नुहुन्न । कांग्रेससँग सहकार्य गर्दा उहाँ ३२ सिटमा झर्नुभयो, अब ०८४ मा गर्नुभयो भने त्योभन्दापनि तल झर्नुहुन्छ । आखिर, एमालेसँग २०७४ को निर्वाचनमा गठबन्धन गर्दा उहाँको पार्टीको ५३ सिट थियो । आउँदो दिनमा एमालेसँग सहकार्य गर्दा माओवादीको साईजेवल सिट रहन्छ । माओवादी सरकारमा बस्नलायक पार्टीको रुपमा पनि रहनसक्छ ।”

सांसद सिंहले एमालेले २०८४ को निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री बन्ने र प्रचण्डलाई पाँच वर्षको लागि राष्ट्रपति बनाउने रणनीतिमा रहेको खुलासा गरे । उनले प्रचण्ड अब अहिले पाँच वर्ष लगातार प्रधानमन्त्री र ०८४ पछि राष्ट्रपति बनेपछि उनको राजनीति समाप्त हुने विश्लेषण सुनाए । उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको अहिलेको सहकार्य कसैलेपनि तत्काल टुटाउन नसक्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot