Logo

‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता



पर्सा, जेठ, २९ । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो ।

पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताए । “जिल्लाको १४ वटै पालिकामा आइपिभी खोपमा बालबालिकाको सहभागिता निकै उत्साहप्रद रह्यो”, उनले भने, “हामीले खोप लगाएका बालबालिकाको प्रारम्भिक तथ्याङ्कले पनि शतप्रतिशतकै हाराहारीमा पुग्ने देखिएको छ । अहिलेसम्म अन्तिम तथ्याङ्क भने आइसकेको छैन ।”

विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर पनि आइपिभी खोप लगाउन बञ्चित बालबालिकालाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले पर्सा जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष्यसहित अभियान सुरुआत गरेको थियो ।

प्रमुख डा साहले खोप अभियानमा लक्ष्यभन्दा पनि केही प्रतिशत बढी बालबालिकामा खोप लगाइएको दाबी गरे । “वीरगञ्जमा अन्य क्षेत्रबाट बालबालिका आउने क्रम धेरै हुने भएकाले पनि लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाउन पाएका छन्”, उनले भने, “खोप अभियानका क्रममा कुनै पनि प्रकारको अवाञ्छित घटना भएन । सबै निकायको समन्वय र सहकार्यमा खोप अभियानलाई सफलतापूर्वक अघि बढाउन सक्यौँ ।”

पर्सामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म वीरगञ्ज महानगरको १ देखि १६ सम्मको वडामा खोप अभियान सञ्चालन गरिएको थियो । त्यस्तै सोही अभियानमा बहुदरमाई नगरपालिका सहित विन्ध्वासिनी , पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोबिनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

त्यस्तै दोस्रो चरणमा भने जेठ २३ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । सोही अभियानमा पोखरिया र पर्सागढी नगरपालिका सहित जिराभवानी , जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका बालबालिकाममा खोप लगाइएको थियो । सोही अभियानमा वीरगञ्ज महानगरपालिका–१७ देखि ३२ नम्बर वडा क्षेत्रमा खोप लगाइएको थियो । यस्तै, जेठ २७ गते छुटफुट भएका बालबालिकालाई खोप लगाइएको थियो । पोलियो रोगविरुद्धको खोप दुई प्रकारका रहेका हुन्छन् । मुखबाट खुवाइने पोलियो खोप (ओपिभी) सुईबाट दिइने पोलियो खोप (आइपिभी) भन्ने गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot