Logo

बयलपाटा अस्पताल सञ्चालनमा सहयोग आवश्यक छः कांग्रेस नेता पाण्डे



काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उक्त अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए । उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे ।

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै सङ्घीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका नेता एवं सांसद अजयकुमार चौरासियाले गत हप्ता तराई मधेसमा हुरी र आँधीले सयौँ घर र कृषिमा ठूलो क्षति पुर्याएको बताउँदै तीनै तहका सरकारसँग आवश्यक क्षतिपूर्ति, राहत र सहयोगका लागि आग्रह गरे । साथै उनले मधेसमा खानेपानीको समस्या बढ्दै गएको उल्लेख गर्दै यसबारेमा दीर्घकालीन व्यवस्था गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीले हालै प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले गरेको भारतको भ्रमणका क्रममा उनलाई आवश्यकताअनुसारको सम्मान नभएको टिप्पणी गर्दै सो बारेमा सरकारको ध्यानाकर्षण गराए ।

साथै उनले गृहमन्त्रीले सदनमा ठूला फाइल खोल्छु भने जानकारी गराएको तर गिरिबन्धु स्टेट, मेलञ्ची, फोरजी, वाइडबडीलगायतका ठूला अनियमितताका फाइल कहिले खुल्छ भनी प्रश्न गरे । उनलाई जिबी राई किन पक्राउ गर्न नसकेको र निर्मला पन्तकोे बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कहिले सजाय हुन्छ भनी जवाफ माग गरे ।

कांग्रेसका नेता एवं सांसद राजेन्द्र बजगाईले गोरखाको चुमनुब्री गाउँपालिकका–७ का राप्के लामा र कर्माछेदिङ लामा डेढ महिना अघि चीनको स्वशासित क्षेत्र तिब्बतबाट टेलिफोन आएपछि त्यसतर्फ जानु भएको र हालसम्म अज्ञात अवस्थामा रहेको बताए ।

उनले सो घटनाबारे नेपाल सरकारलाई जानकारी नभएको भन्दै तत्काल खोजी र रिहाईका लागि सरकारसँग पहल गर्न माग गरे । सांसद बजगाईले हिमाल आरोही निर्मल पूर्जाका विवादास्पद कार्य तत्काल नियन्त्रण गर्नुपर्ने माग गरे । रासस



प्रतिक्रिया दिनुहोस्