Logo

महाकाली अस्पतालबाट दश महिनामा एक लाखभन्दा बढीले लिए सेवा



महेन्द्रनगर (कञ्चनपुर), २९ जेठ । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सेवालाई विस्तार गर्दै लगेको छ । चालु आर्थिक वर्षको दश महिना अस्पतालबाट ७३ हजार चार सय ५० ले बहिरङ र ३१ हजार सात सय ६५ जनाले आकस्मिक कक्षबाट सेवा लिएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए ।

त्यस्तै तीन हजार आठ सय ६३ जनाले खोप सेवा, दुई सय १९ जनाले शल्यक्रिया, एक हजार सात सय ९१ जनाले सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ । बाह्र हजार तीन सय १७ जनाले भिडियो–एक्सरे सेवा लिएको अस्पतालबाट पाँच सय १६ जनाले यो अवधिमा ‘इसिजी’ सेवा लिएको अस्पतालको भनाइ छ ।

त्यसैगरी चालु आवको वैशाखसम्म एचआइभिका २२ र क्षयरोगका ६६ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । केही समयअघि मात्रै अस्पतालले सुरु गरेको डायलासिस सेवातर्फ एक हजार आठ सय ६१ जनाले निःशुल्क सेवा लिइरहेको अध्यक्ष भट्टको भनाइ छ ।

अस्पतालको आन्तरिक सुधारका साथै भौतिक संरचना निर्माणमा समेत तीव्रता दिइरहेको बताउँदै अध्यक्ष भट्टले विशेषज्ञ सेवा थपका लागि पनि अग्रसरता देखाइएको जानकारी दिए । आठ प्रकारका विशेषज्ञ सेवा दिइरहेको अस्पतालमा अझै दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी भने उपलब्ध छैनन् । “यस वर्ष डायलासिस सेवा दश शय्यामा विस्तार गरेका छौँ”, भट्टले भने, “विशेषज्ञ सेवा विस्तारदेखि अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पहल भएको छ ।”

उनले अस्पतालले सिटी स्याक्न सेवा, अस्पतालका थप संरचना निर्माणदेखि व्यवस्थापनमा माथिल्लो निकायमा पहल गरिरहेको बताए । कुनै बेला चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार हुँदा बिरामीको चाप पनि बढ्दै गएको छ । “दैनिक चारदेखि छ सयको सेवाग्राही आइरहेका छन्”, उनले भने, “आकस्मिक सेवामा पनि दैनिक एक सयको हाराहारीको सङ्ख्यामा सेवाग्राही आइरहेका छन् ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot