Logo

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने



काठमाडौँ, २९ जेठ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र छनोट भएका छन् ।

असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईकालगायत देशका आठ चलचित्र छनोट भएका महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।

नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको उनले बताए । “महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । यसपटक चलचित्र भवनमै छनोट भएका सामग्री प्रदर्शन गर्ने तयारी गरेका छौँ”, निर्देशक क्षेत्रीले भने ।

उनका अनुसार महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाईनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाईभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ छनोट गरिएका छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’ छनोट भएको छ । वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छनोट भएका छन् ।

महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुनेसमते आयोजकले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot