काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकमा उनले कर्णालीमा छोरी खाता कार्यक्रम लागू गरेको बताए ।
सांसद शाहीले सङ्घीय बजेटले महिलालाई आत्मनिर्भर बनाउन कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे । साथै, ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न र उनीहरुको ज्ञान युवापुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए । बजेटमा देश विकासको एकीकृत योजना हुन आवश्यक रहेको उनको भनाइ थियो ।
सहरी विकास मन्त्रालयले एक लाखदेखि ५० हजारसम्मका टुक्रे बजेट ल्याएको टिप्पणी गर्दै सांसद शाहीले यस्ता योजना नतिजामुखी कार्ययोजना नहुने बताए । टुक्रे बजेट आउनुमा अर्थमन्त्री वर्षमान पुनको दोष नभई विधि र प्रक्रियाको रहेको बताए ।
“विकासका नयाँ मोडलमा योजना बन्नुपर्छ । टुक्रे बजेटले उपलब्धि पाइँदैन”, सांसद शाहीले भने, “हाम्रो देशको बजेट अनुत्पादित क्षेत्रमा बढी भयो । उत्पादितमा लगानी गर्नुपर्छ ।” उनले बजेट देशको साझा मुद्दा भएको हुँदा सबै सांसद र नेतृत्वले यसको सही सदुपयोग गर्न बृहत् छलफल गर्न आवश्यक रहेको बताए ।
ऋण लिएर अनुत्पादित क्षेत्रमा लगानी गर्नु हुँदैन भन्ने उनको धारणा छ । साथै आर्थिक कारणले महिलामाथि हिंसा बढेको उल्लेख गर्दै सांसद शाहीले न्यूनीकरणका लागि महिला लक्षित कार्यक्रम ल्याउन जरुरी रहेको बताए । रासस/file photo