काठमाडौं, जेठ ३१ । सोमबार पक्राउ परेका सेञ्चुरी बैंकका पूर्व अध्यक्ष राजेश श्रेष्ठ रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको थियो ।
सीआईबीले श्रेष्ठको बयानपछि रिहा गरेको हो । सिआईबीले अध्यक्ष श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको थियो ।
हाल प्रभु बैंकसँग मर्ज भएको तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष, सिइओ लगायतको मिलेमतोमा कमसल र कम मूल्यको धितो राखी बढी ऋण प्रवाह गरेको कसुरमा सीआईबीले उनीहरूलाई बयानका लागि पक्राउ गरेको हो।
यसअघि यही प्रकरणमा बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका थिए । गत फागुन १५ मा पक्राउ परेका उनीहरुलाई चैत १ प्रहरीले बयानपछि हाजिरी जमानीमा रिहा गरेको थियो ।