Logo

प्रधानमन्त्री प्रचण्ड र ओलीसँग अशोक राईको एक घण्टा छलफल



काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा हिजो (बुधबार) भएको भेटवार्तामा राईले आफ्नो पार्टी दर्ताबारे सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाईमा ढिला भएको विषयमा चासो राखेका थिए ।

तीन जना नेताबीच छलफल चलेकै बेलामा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि प्रधानमन्त्री दाहालको च्याम्बरमा बोलाईएको थियो । उपेन्द्र यादवबाट अलग भएर राईले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गराएका छन् । तर, यादवले आफ्नो दल विभाजन नै असंवैधानिक भएको भन्दै दल दर्ता खारेजीको माग गरेर रिटट दायर गरेका छन् ।

सो रिटमाथि निरन्तर सुनुवाई भएर अहिले पूर्ण इजालासले टुँगो लगाउने भनिएको छ । यादवले भने पूर्वघोषितअनुसार नै पार्टीको एकता महाधिवेशन जनकपुरमा जारी राखेका छन् । उनी महाधिवेशनबाट सर्वसम्मत् अध्यक्षमा निर्वाचित भैसकेका छन् । यता, राईले भने अदालतबाट दल दर्ताविरुद्ध परेको रिटमाथि सुनुवाई भएर आदेश आउन ढिला भएपछि भने पार्टीका गतिविधि गर्न पाएका छैनन् ।

राईको दलबाट अहिले प्रदीप यादव र नवलकिशोर साहु सुँडी सरकारमा छन् । जसपाले अझै एक मन्त्रालय पाउने सहमति भएको छ । त्यसमा सांसद रञ्जुकुमारी ठाकुरलाई पठाउने तयारी भएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा मन्त्रिपरिषद् पूनर्गठनको विषयमा पनि छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्