Logo

बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई एमाले महासचिव पोखरेलको आग्रह



काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरुको लक्ष्य समृद्धि र समाजवाद भएको बताए ।

“अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको देखिन्छ । लोकप्रियतावाद हावी भएर गम्भीर विषयले महत्व नपाएको स्थिति छ, यस अवस्थामा स्रष्टा र कलाकारले आफ्ना बौद्धिक र सन्देशप्रद रचनाबाट समाजलाई प्रभाव पार्न सक्नुपर्छ । त्यसले एमालेको बलियो राष्ट्रिय शक्ति निर्माणको यात्रालाई पनि सघाउन सक्नेछ ।’’

कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमालले साहित्यकार र कलाकारहरुले समाजलाई युगौँसम्म सकारात्मक ऊर्जा दिन सक्ने क्षमता हुने भएकाले राजनीतिक दललाई पनि स्रष्टाका रचनाले प्रेरणा मिल्ने बताए ।

सोही पार्टीका पोलिटब्युरो सदस्य सुजिता शाक्यले आफू पञ्चायतकालमा विद्यार्थी हुँदा सांस्कृतिक अभियानमा जोडिएको सन्दर्भ उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङ्क्षामा साथ दिन स्रष्टाहरुलाई आग्रह गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गत वैशाख ८ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न राष्ट्रिय परिषद् सदस्यको महाधिवेशनमा कलाकर्मीले सृजनाका माध्यमबाट साथ दिएको अवगत गराए। रासस



प्रतिक्रिया दिनुहोस्