Logo

‘लेमन ट्री प्रिमियर’ ले पायो पाँचतारे होटलको मान्यता



काठमाडौं, जेठ ३२ । बूढानिलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बूढानिलकण्ठले पाँचतारे होटेलको मान्यता पाएको छ । पर्यटन विभागले गरेको अनुगमनमा मापदण्ड पुरा भएको पाईएपछि उसले पाँच तारेको मान्यता दिएको हो ।

सुन्दर र शान्त वातावरणमा रहेको होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालमा आएको हो । ४ वर्षदेखि निमार्णाधिन होटलको कूल लागत २ अर्ब ६० करोड रुपैयाँ रहेको छ । होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

२ अर्ब ४० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड रुपैयाँ लागत बढेको होटलका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए । पछिल्लो समय उच्चवर्गको बसोबास बढ्दै गएको बूढानिलकण्ठ क्षेत्रमा खुलेको यो पहिलो पाँचतारे होटेल हो ।

काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्ने उत्तम गन्तव्यको रुपमा पनि बूढानीलकण्ठ क्षेत्र विकास हुँदै छ । होटलमा १ सय २ कोठा छन । ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन् । यी रुपमा कुल १ सय ९० बेड रहेका छन् ।

त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, १ सय ७७ वर्गमिटर र ३ सय १४ वर्गमिटर गरि २ वटा बैंक्वेट हल रहेका छन् । त्यसैगरि निकट भविष्यमै सञ्चालनमा ल्याउने उद्देश्य सहित १८ हजार वर्ग फिटको क्यासिनो हल पनि निमार्ण भईरहेको छ ।

होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योग तथा ध्यान केन्द्र रहेका छन् । होटल सञ्चालकमा प्रवन्ध सञ्चालक कार्कीसहित अध्यक्षमा डा. राजेन्द्र केसी, अम्बिकाप्रसाद पौडेल, हरिप्रसाद पाठक, सिए नवराज बुर्लाकोटी, सिए दीपक पाण्डे, जनक भट्ट, दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे रहेका छन्।

लेमन ट्री भारतीय प्रसिद्ध ब्राण्ड हो । यसका विश्वका ८० देशमा १५० भन्दाबढी होटेल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot