Logo

हुथी समुहद्वारा ढुवानी जहाजमा बारम्बार मिसाइल आक्रमण



दुबई, ३२ जेठ । यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।

“एम÷भि भर्बेना–पलाउआन–झण्डा भएको, युक्रेनी स्वामित्वमा रहेको, पोल्यान्डद्वारा सञ्चालित जहाजमा क्षति र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको छ । आक्रमणको क्रममा एक जना जहाज सञ्चालक गम्भीर घाइते हुनुभएको छ”, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक विज्ञप्तिमा जानकारी गरायो ।

हुथीहरूले गाजा पट्टीमा चलिरहेको इजरायल–हमास युद्धको क्रममा प्यालेस्टिनीहरूसँग एकतामा रहेको बताउदै नोभेम्बर २०२३ देखि लाल सागर र एडनको खाडीमा पानीजहाजहरूलाई लक्षित आक्रमण गर्दै आएका छन् । यसले अन्तर्राष्ट्रिय ढुवानीमा ठुलो अवरोध ल्याएको छ ।

हुथि समुहले बिहीबार गाजा पट्टीमा जनता विरुद्ध गरिएको अपराधको प्रतिशोधमा र आफ्नो देश विरुद्धको अमेरिकी–ब्रिटिश आक्रमणको प्रतिक्रियामा विगत २४ घण्टाभित्र भर्बेनासहित तीनवटा जहाजहरूमा आक्रमण गरेको बताएका छन्।

यसैबीच संयुक्त राज्य मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले यमनको विद्रोहीको कब्जामा रहेको होडेडा बन्दरगाहबाट करिब ८० नटिकल माइल उत्तरपश्चिम लाल सागरमा व्यापारिक जहाज नजिकै विस्फोट भएको बताएको छ ।

सेन्टकमका अनुसार पछिल्लो २४ घण्टामा हुथीहरूसँग सम्बन्धित एक एयर डिफेन्स सेन्सर, दुई गस्ती डुङ्गाहरू र समुद्री र हवाई ड्रोनहरू नष्ट गरेको बताइएको छ।

सन् २०१४ मा सानाबाट सरकारलाई अपदस्थ गरेपछि हुथीहरूले नोभेम्बरदेखि लाल सागर र एडनको खाडीमा ढुवानी जहाजहरूमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेका हुन् ।

हुथीहरूले बुधबार होडेडाको दक्षिणपश्चिममा लाइबेरियाको झण्डा भएको बल्क ढुवानी जहाजलाई प्रहार गरेका थिए । उनीहरूले हमलामा समुद्री र हवाई ड्रोनका साथै ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गरेका छन्।

“गाजामा प्यालेस्टिनीहरूको पक्षमा रहेको दाबी गर्दै द्वन्द्वसँग कुनै सम्बन्ध नभएका तेस्रो देशका नागरिकहरूको जीवनलाई लक्षित आक्रमण र धम्की दिइरहेका छन्“ सेन्टकमले बिहीबार हुथीहरूलाई आरोप लगायो। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot