Logo

विनोद चौधरीसँग मेरो कहिल्यैपनि मेल थिएन, म उहाँलाई राजनीतिक कार्यकर्ता मान्दिनँ : हृदयेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ३२ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको राजनीतिमा गठबन्धन बन्नु र भत्किनुमा आश्चर्य नभएको प्रतिक्रिया दिएका छन् । उनले आफूले ०४८ सालदेखिका सरकारहरु नजिकबाट नियाँलेको भन्दै सबै सरकारप्रति जनताको आलोचना रहेको स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिलेको तथ्यांक हेर्दा मुलुकको अर्थतन्त्रको अवस्था नाजुक रहेको टिप्पणी गरे । अर्थतन्त्रमा शिथिलता र संकुचन रहेको उनको भनाई छ । संविधान जारी गर्दा नै मार्शल लगाएर पारित गरेको देश भएकोले नेपालमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा वा अन्य काम गर्दा संसद्मा मार्शल लगाउनु अनौठो नभएको त्रिपाठीको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको यो डेढ वर्षको अवधिमा तीन वटा गठबन्धन बनिसकेकोले संसदको यो कार्यकालभरि गठबन्धन बन्ने र भत्कने क्रम जारी नै रहने उनको दाबी छ ।

उनले एमाले–माओवादीको अहिलेको सत्ता गठबन्धन कति लामो जाने भन्ने कुरा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एक अर्कालाई गर्ने सहयोगमा निर्भर हुने पनि विश्लेषण सुनाए । उनले कांग्रेस र एमालेबीच पनि गठबन्धन बन्नसक्ने सुनाए । तर, ठूला दुई दलबीचको गठबन्धन संविधान संशोधनको विषय अगाडि आएपछिमात्रै बन्नसक्ने उनको विश्लेषण छ ।

उनले भने,‘म उहाँलाई राजनीतिक कार्यकर्ता मान्दिनँ । नेपालको राजनीतिक आन्दोलनमा उहाँको कुनै योगदान छैन् । उहाँकोमात्रै होईन, उहाँको परिवारको पनि योगदान छैन् । आन्दोलन र क्रान्तिमा उहाँको एक रत्तिपनि योगदान छैन् । हामी लोकतान्त्रिक आन्दोलनमा होमिएका बेलामा उहाँ प्रतिगमनको मतियार हुनुहुन्थ्यो । आन्दोलनको विरुद्धमा उहाँले जनमत सिर्जना गराउँदै हुनुहुन्थ्यो । सम्भवतः उहाँ उद्योग वाणिज्य महासंघको अध्यक्ष के हुनुहुन्थ्यो ।’

फरक प्रसंगमा उनले आफू र विनोद चौधरीबीच कहिल्यैपनि मेल नभएको खुलासा गरेका छन् । उनले आफूले विनोद चौधरीको बारेमा व्यक्तिगत रुपमा कुनै टिप्पणी नगर्ने पनि बताए । आफू विनोद चौधरीसँग पराजित भएको र चुनावताका पनि आफूले विनोद चौधरीको बारेमा व्यक्तिगत रुपमा कुनै टिप्पणी नगरेको सुनाए ।

पत्रकार धमलाले कुनै बेला तपाईं र विनोद चौधरी त मैले मिलेको देखेको थिएँ नि ? भनेर सोधेको प्रश्नमा नेता त्रिपाठीले भने–‘कहिल्यैपनि थिएन ।विनोद चौधरीसँग मेरो कहिल्यैपनि मेल थिएन । सत्य कुरो त्यो हो । म राजनीतिमा आउँदा विनोद चौधरी कुनै हाईटवाला व्यक्तित्व नै थिएन । चौधरी ग्रुप नै हाईटमा थिएन । त्यही मिरा होमबाहेक उहाँहरुको केही पनि थिएन । तीनै जना दाजुभाईहरुसँग मेरो चिनाजानी त हो । मैले अपमानजनक व्यवहार कहिल्यैपनि गरेको छैन् । तर, कहिल्यैपनि त्यति मेल चाहीँ भएको छैन् । त्यति नजिक हामी कहिल्यैपनि रहेनौं ।’

उनले आफूले विनोद चौधरीलाई राजनीतिक कार्यकर्ताको रुपमा पनि नमान्ने टिप्पणी गरे । उनले नेपालको राजनीतिक आन्दोलनमा विनोद चौधरीको कुनै योगदान नै नरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot