काठमाडौं, ३२ जेठ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले मन्दिर, गुम्बा र धर्मशाला बनाउँदैमा देश समृद्ध हुन्छ त ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै पूर्वमन्त्री महतोले यस्तो प्रश्न गरेका हुन् ।
पर्यटन मन्त्रालयअन्गर्तत बजेट विनियोजन गर्दा मन्दिर, गुम्बा र धर्मशालाबाहेक अरु केही पनि नदेखिएको टिप्पणी गरेका छन् । अनि ती कुरामा छुट्याईएका टुक्रे बजेटबाट मन्त्री र कर्मचारीहरुको भीजन सानो रहेछ भन्ने कुरा देखिएको उनको टिप्पणी छ ।
उनले प्रश्न गरे–‘संघीय सरकारले एक लाखको पनि बजेट छुट्याउनु भनेको कहाँको नैतिकता हो ? कहाँसम्म यो दिमाग पुगेको छ ? बजेट कनिका छरेको जस्तो भयो । अनि यसरी देश समृद्ध बनाउँछु, देशमा केही गर्छु भन्ने कुरा सोच्नु भनेको अचम्मको कुरा लाग्छ मलाई ।’ सांसद महतोले नेपालको पर्यटन क्षेत्रको विकासको लागि भारत र चीनबाट पर्यटक भित्र्याउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने,‘हाम्रो विशाल भीमकाय छिमेकी मित्रराष्ट्रहरु भारत र चीनबाट एक प्रतिशतमात्रै पर्यटक भित्र्याउन सकियो भने हामी ६ महिना काम गरेर अर्को ६ महिना सुतेर बसेपनि हुन्छ ।’ उनले साईप्रसको उदाहरण दिँदै आज त्यो देशले पर्यटककै कारण आर्थिक समृद्धि हाँसिल गरेको सुनाए ।
उनले देशमा विद्यमान सबै विमानस्थलहरुको सही सञ्चालनमा पनि ध्यान दिनुपर्ने बताए । अहिले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लिएर बाहिर आउनको लागि अढाई घण्टा समय लाग्ने गरेको भन्दै उनले दिग्दारी सुनाए । विमानस्थलमा दिईने सेवा छिटोछरितो बनाउनको लागि उनले सरकारलाई सुझाव दिए । वर्षमा यति लाख पर्यटक भित्र्याउँछौं भनेरमात्रै नहुने भन्दै त्यसको लागि आवश्यक तयारीदेखि सेवासुविधामा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो ।
सांसद महतोले पर्यटन मन्त्रालयमात्रै नभएर वन तथा वातावरण मन्त्रालयअन्तर्गत पनि कनिका छरेझैं बजेट आएको टिप्पणी गरे । उनले चुरे संरक्षणको लागि छुट्याईएको बजेटले चुरे संरक्षण हुन नसक्ने दाबी गरे । अहिले चुरेको दोहन भएको कारण मधेशमा पानीको हाहाकार मच्चिएको उनको भनाई छ । चुरे विना भए मधेश मरुभूमिमा परिणत हुने उनको भनाई छ ।