Logo

अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ’कागजको टुक्रा’ रहेको रुसको दाबी



मस्को, ३२ जेठ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जी–७ शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ’केवल कागजको टुक्रा’ रहेको बताएका छन् ।

“यी सम्झौताहरूको कानुनी कार्यान्वयन छैन र यो केवल एक कागजको टुक्रा मात्र हो“, रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताए ।

युक्रेनले बिहीबार अमेरिका र जापानसँग सुरक्षा सम्झौताहरूमा हस्ताक्षर गरेको थियो जुन बेलायत र फ्रान्सलगायत यसका पश्चिमी सहयोगीहरूसँग गरिएको सम्झौताको पछिल्लो श्रृङ्खला हो ।

सम्झौतामा रुसी सैन्य आक्रमण विरुद्ध युक्रेनलाई लामो समयसम्म सैन्य र आर्थिक सहयोग जारी राख्ने प्रतिवद्धता समावेश रहेको छ । जाखारोभाका अनुसार सम्झौताको मुख्य उद्देश्य “युक्रेनमा रहेका नागरिकहरूलाई विश्व समुदाय अझै पनि उनीहरूको साथमा छ भन्ने देखाउनु मात्र हो। वास्तवमा, यी सबै देश युक्रेनको भविष्यका लागि कानुनी जिम्मेवारीबाट टाढा रहन्छन्“, उनले बताए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनसँग हस्ताक्षर गरिएको १० वर्षे सम्झौता आफ्नो देशका लागि नेटो सदस्यता प्राप्त गर्ने पुल भएको बिहीबार बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot