Logo

चुरिया बचाउनको लागि यो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरियोस : प्रभु साह



काठमाडौं, ३२ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले जंगली जनावरबाट पीडित किसानहरुलाई क्षतिपूर्तिको लागि बजेट नछुट्याईएको भन्दै गुनासो पोखेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो जंगली जनावरबाट ठूलो संख्यामा किसानहरु मारमा परेको बताएका हुन् । उनले भने,‘जंगली जनावरबाट पीडित किसानहरुलाई क्षतिपूर्तिको लागि बजेट किन छुट्याईएन ? म प्रश्न सोध्न चाहन्छु । बँदेल, नील गाई, बाँदरलगायतका जंगली जनावरबाट किसानको अरबौंको क्षति भएको छ । किसानको ढाड भाँचिएको छ। कानूनमा क्षतिपूर्ति दिन भनिएको छ । तर, बजेट छुट्याईँदैन् । यस्तो अन्यायपूर्ण स्थिति कहिलेसम्म हुन्छ ?’

सांसद साहले जंगलको सदूपयोगको नीति सरकारसँग के छ ? भनेर पनि सोधेछ । उनले भने,‘नेपालको जंगल र काठको सदूपयोगको नीति के छ ? नेपालका काठहरु कुहिएर सडेका छन् । विदेशी काठले नेपालमा मार्केट पाउने, यो दुर्भाग्यपूर्ण स्थितिको अन्त्य कहिले हुन्छ ? वन्यजन पदार्थको सदूपयोगको नीति के छ ? हामी जान्न चाहन्छौं । चुरिया क्षेत्रमा हुने उत्खनन, जंगल फडानी र बसोबासलगायतका कार्यहरुको निश्चित् मापदण्ड बनाईयोस । त्यो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरियोस । अनिमात्र हामी चुिरया दोहन रोक्न सक्छौं । यो विषय बजेट तथा कार्यक्रममा कतै देखिएन । यो विषयमा विचार गर्न आग्रह गर्दछु ।’ उनले मधेशमा अहिले खानेपानीको ठूलो हाहाकार रहेको र बजेटमा केही सम्बोधन होला भनेर बस्दा केही पनि नआएको गुनासो पोखे । चापाकलका पानीहरु सुकिरहेको र खानेपानी ट्यांकीहरु शो’को लागि राखिएको उनको प्रश्न छ ।

उनले काठमाडौं मेलम्ची खानेपानीको जसरी चर्चा भएको छ तर व्यवहारमा त्यसको ठीक विपरित रहेको टिप्पणी गरे । अहिले कहिले पानी आउने र कहिले नआउने भैरहेको भन्दै मानिसहरु अन्यौलको स्थितिमा रहेको बताए । तराई समथर भूभाग भएपनि पानी निकासको अहिले ठूलो समस्या रहेको उनको भनाई छ । तराईमा पानी र ढल निकासको लागि ठोस कार्यक्रमको माग पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot