Logo

प्रचण्डलक्षित वामदेवको कडा आक्रोश : मैले त्यसबेला यति मान्छे मारें भन्ने उपलब्धि हुन्छ ?



काठमाडौं, १ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्षमतामाथि पनि प्रश्न उठाएका छन् । उनले जनयुद्धका १० वर्ष र अहिले शान्ति प्रक्रियामा आएपछिका १७ वर्षको अवधिमा प्रचण्डले देशको लागि वा विकास के गर्नुभयो ? भन्दै प्रश्न गरे । उनले प्रचण्डसँग जनयुद्धदेखि आजसम्मको हिसाबकिताब जनतालाई दिनुपर्छ भनेर खोजे । उनले भने,‘त्यसबेला मैले यति मान्छे मारें भन्ने उपलब्धि हुन्छ ? मैले त्यसबेला यति मान्छे मारें, अहिले यति गरें भन्न पाईन्छ ?

उनले देशको विकास हुनको लागि आफ्नो पुस्ता सकिनुपर्ने निर्मम टिप्पणी गरेका छन् । नेपालमा अब कहिले विकास हुन्छ भन्ने ऋषि धमलाको प्रश्नमा पूर्व उपप्रधानमन्त्री गौतमले कठोर जवाफ दिए । उनले भने,‘नेपालमा विकास त अब हामी सकिएपछि हुन्छ । म र मेरा समकक्षीहरु हामी जम्मै लाखापाखा लागेर हाम्रो ठाउँमा अरु कोही आएपछि होला । तर, अहिले हुँदैन् । आजको नेतृत्वले देश विकास गर्दैन् । विकास गर्ने क्षमता नै छैन् । उनीहरुको दिमागमा विकास छैन् । हरेकको दिमागमा षड्यन्त्र छ । प्रधानमन्त्री कसरी हुने र त्यो कुर्सी कसरी टिकाउने ? त्योबाहेक अरु केहीपनि छैन् ।’

ृउनले एमाले एक्लै हिँडेर मिसन–०८४ मा सफलता हात पार्न नसक्ने र उसको मिसन–०८४ फेल हुने दाबी गरेका छन् । उनले एमाले केही गर्न सक्छ भन्ने प्रभाव पार्नसक्ने पार्टी भएको उल्लेख गरे । तर, एमालेले मिसन ०८४ भने एक्लैले अघि बढेर सफल हुने र त्यो फेल हुने उनको टिप्पणी छ । एमालेले त एक्लै मिसन ०८४ मा बहुमत आउने भनिसकेको छ नि ? भनेर पत्रकार धमलाले राखेको प्रश्नमा उनले भने–‘केपी ओलीले स्वर्ग नै यहाँ ल्याउँछु भनेर निर्णय गर्नुहुन्छ अरे, अनि आउँछ स्वर्ग यहाँ ? अमेरिका यहाँ ल्याउँछु भनेर एमालेले निर्णय गर्छ अरे, अनि अमेरिका यहाँ आउँछ त ? निर्णय गर्यो रे, अनि निर्णय गर्दैमा हुन्छ त?’

उनले सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता सम्भव रहेको र हुनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले एमाले र माओवादीमात्रै नभएर माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पनि एकतामा आउनुपर्नेमा जोड दिए ।

माधव नेपालले त अब एमालेसँग कुनैपनि हालतमा एकता गर्दिनँ भन्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा उनले भने–‘माधवकुमार नेपालले घोषणा गरेर हुन्न, उहाँले कति घोषणा गर्नुभयो भयो, उहाँले घोषणा गरेका कुरा कति लागु भए ? कति भएनन् ? त्यो कुरा छोडिदिनुहोस । उहाँहरुको नाभी जोडिएको सम्बन्ध छ । केपी ओलीलाई तपाईंको माधव नेपालसँग के हो सम्बन्ध भनेर सोध्नुहोस त, उहाँले हामी झगडा पनि गरेर बस्ने, रोएर र हाँसेर पनि सँगै बस्नेसक्ने त्यस्तो साथीहरु हौं । र, अत्यन्तै दुःख र कष्टमा, आज मर्ने कि भोलि मर्ने भन्ने बेलाका दुःखका साथी हौं भन्नुभएको छ । त्यस्तो मित्रता भएको साथी, अहिले वा सधैं त्यस्तो भैरहन्छ ? एमाले, माओवादी र एकीकृत समाजवादीसँगै अरु पनि सँगै आउनुपर्छ । नआउने कम्युनिष्टहरु लाखापाखा लाग्छन्, सिद्दिन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot