Logo

बजेटबारे असन्तोष पोखेका ओलीको प्रश्न : हामी सरकारमा छँदैछौं भनेर हुन्छ ?



काठमाडौं, १ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटबारे फेरि कडा टिप्पणी गरेका छन् । उनले एक÷दुई जनाको मुख हेरेर नहुने भन्दै बजेटबारे अलिक छलफल गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । आज (शनिबार) बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो बजेटमा एक÷दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरिबतिर देश गएपनि के भयो र ? हामी सरकारमा छँदैछौं भनेर हुन्छ ?’ उनले आफूहरु सरकारमा हुनुको कारण देशलाई गरिबीबाट रोकेर विकासतर्फ अघि बढाउनको लागि भएको स्पष्ट पारेका छन् । उनले भने,‘त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ बजेटको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ ।’ बजेटबारे खुलेर छलफल गर्न र धारणा राख्नपनि उनले सांसदहरुलाई निर्देशन दिए ।

उनले आफूहरु स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे । प्रतिक्रियावादीहरुले आफ्नो पार्टीको बारेमा नयाँ नयाँ हमला गरेको र अकल्पनीय कुरा सिर्जना गरेको ओलीको आरोप छ । उनले भने,‘आज विहानमात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले ५ अर्ब खाईसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि ? तर, ५ अर्ब केपी ओलीले खायो, खाने भयो भनेर । यो हाम्राविरोधी प्रतिक्रियावादी जो देश अगाडि नबढोस भन्ने चाहन्छन् र राष्ट्रिय शक्तिलाई कमजोर पार्न चाहन्छन् । त्यसमा उनीहरुको अर्को कुनै उपाय छैन् । भ्रमको जालो फिजाईदिने, आस्था कसरी हटाईदिने, एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ ? त्यो भैरहेको छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्