काठमाडौं, असार २ । जेठशुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व। गंगा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा यसको महत्त्व छ। भगीरथले अनेकौँ प्रयास गरी यही दिन गंगालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ। १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइँदै छ।
वैदीककालमा आजकै तिथिमा भगीरथले भागिरथी गंगाको आगमण भएको विश्वास गरिन्छ । यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ ।
दशहरा ज्येष्ठ शुक्ल प्रतिपदामा शुरु भई दशमीमा पूरा हुन्छ। यसमध्ये दशमीको विशेष महत्त्व छ । सके दशैदिन स्नान गर्ने नसके दशमीका दिन स्नान गर्ने विधान छ। यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ । यस दिन रसुवाको गोसाइँकुण्ड नुवाकोटको वेत्रावतीलगायत दोभान तथा त्रिवेणीमा श्रद्धालुको घुइँचो लाग्छ।
गंगाको महत्वका विषयमा स्कन्द पुराणमा लेखिएको छ–‘जेष्ठ शुक्ल दशमीलाई संवत्सरमुखी मानिएको हुँदा यस दिन स्नान र दानको विशेष महत्व छ । यसमा स्नान र दान रूपात्मक व्रत हुन्छ । कुनै पनि नदी वा तलाउमा गएर अघ्र्य तथा तर्पण गर्नु विशेष फलदायी हुन्छ । यसो गर्नाले पहापातक बराबरका दश पापहरू छुट्दछन् । यदि ज्येष्ठ शुक्ल दशमीका दिन मंगलवार भयो र हस्ता नक्षत्र पनि पर्यो भने त्यो सम्पूर्ण पापको नाश गर्नेवाला हुन्छ ।
वराह पुराणका अनुसार जेष्ठ शुक्ल दशमी बुधवारका दिन हस्त नक्षत्रमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवतीर्ण भएकी थिइन् जसले सम्पूर्ण पाप नाश गर्दछिन् । यसकारण यो दिनलाई दशहरा भनिएको हो । जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, हस्त नक्षत्र, गर, आनन्द, व्यतिपात, कन्या राशिका चन्द्र, वृष राशिका सूर्ययुक्त दस योगको मिलन भएका दिनमा स्नान गर्नाले मानिसका सबै पाप पखालिन्छन् ।
स्कन्द पुराणका अनुसार जो मानिसले दशहराका दिन गंगाको पानीमा उभिएर स्कन्द पुराणमा वणिर्त गंगा दशहरा स्तोत्र दशपटक पढ्छ, उसका सबै कष्ट नाश हुन्छन् । दरिद्रता एवं असमर्थता भएकाहरूले समेत सम्पूर्ण सामग्री तयार पारेर विधिपूर्वक गरिने गंगापूजाकै फल प्राप्त गर्दछन् ।