Logo

संसदीय छानबिन विशेष समितिको बैठक बस्दै



काठमाडौं, असार २ । सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दैछ।

सिंहदरबार स्थित समितिको कार्यलयमा दिउँसो २ बजे बस्ने आजको बैठकले अनुसन्धानका क्रममा जाने टोली, भेट गर्ने व्यक्ति र आवश्यक कागजात कहिलेसम्म संकलन गर्र्ने लगायतका विषयमा निर्णय गर्ने तयारी गरेको छ । आजको बैठकले गरेका ठोस निर्णयको आधारमा समिति विस्तृत रूपमा अगाडि बढ्ने जनाइएको छ ।

यसअघि समितिको पहिलो बैठक जेठ २३ गते र दोस्रो बैठक जेठ २५ गते बसेको थियो । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बसेको थियो । गत जेठ १५ गते सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको हो ।

प्रतिनिधिसभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरूका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज लगायतका आधारमा सहकारीको छानविन हुने सदस्यहरुले बताएका छन । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा गठित संसदीय छानबिन समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot